दफा ११–डिपोजिटरीहरुः
(क) प्रत्येक सदस्य मुलुकले बैंङ्कसित रहेको आफ्नो मुद्राको मौज्दातको निमित्त आफ्नो
केन्द्रिय बैंङ्कलाई डिपोजिटरी मनोनित गर्नेछन् वा सो मुलुकको आफ्नो केन्द्रीय बैंङ्क
नभएमा बैङ्कलाई मञ्जूर हुने यस्तै अरु संस्थालाई मनोनित गर्नेछन् ।
(ख) बैंङ्कले सबभन्दा बढी संख्यामा शेयर हुने पाँच सदस्यहरुले मनोनित गरेको
डिपोजिटरीहरुमा र बैंङ्कले छान्ने यस्तै अरु मनोनित डिपोजिटरीहरुमा सुन सहित
अरु सम्पत्ति आफ्नो भोग चलनमा राख्न सक्नेछ । प्रारम्भिक तवरले बैंङ्कको
मौज्दातको कमसेकम आधा आफ्नो प्रादेशिक क्षेत्रभित्र बैंङ्कको प्रधान कार्यालय
भएको सदस्यले मनोनित गरेको डिपोजिटरीमा राखिनेछ र कमसेकम चालिस
प्रतिशत माथि उल्लेखित बाँकी चार सदस्यहरुले मनोनित गरेको डिपोजिटरीहरुमा
राखिनेछ । यस्ता डिपोजिटरीहरु मध्ये प्रत्येकले प्रारम्भिक तवरले यसरी मनोनीत
गर्ने सदस्यको शेयरहरुमा भुक्तानी गरेको सुनको रकमभन्दा कम नहुने गरी
आफूसित राख्न पाउनेछ । तर पनि बैंङ्कद्वारा हुने सुनको सबै हस्तान्तरण, ढुवानी
खर्च र बैंङ्कलाई जरुरत पर्न आउने भनी अंजाम गरिएको खर्चलाई ध्यानमा राखी
गरिनेछ । असाधारण अवस्थामा कार्यकारी सञ्चालकहरुले बैंङ्कसित मौज्दात रहेको
सुनको जम्मै वा केही अंश उचित तवरले सुरक्षित हुन सक्ने ठाउँमा सार्न
सक्नेछ ।